पोखरा, (नेस) पर्यटकीय पोखराको फेवातालबाट १५ ट्रयाक्टरभन्दा बढी फोहोर निकालिएको छ। पश्चिमाञ्चल होटल संघ पोखरा र वाराही क्लबको संयुक्त आयोजनामा शनिबार तालको सरसफाइ गर्ने क्रममा उक्त परिमाणको फोहोर निकालिएको हो।
फेवा ताल पोखरेलीको मात्र नभई नेपालकै पर्यटकीय गहना भएकोले त्यसलाई सफा राख्नुपर्छ भन्ने मान्यताअनुरुप सरसफाइ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिनुभयो। सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तथा अधिकृत, पर्यटन व्यवसायी, स्थानीय आमा समूह र क्लबहरूको समेत सहभागिता रहेको थियो।
फेवा ताल प्रदूषण र अतिक्रमणको चपेटामा परेको तथा विगतमा २२ हजार रोपनीमा फैलिएको फेवा ताल अहिले ८ हजार रोपनीमा सीमित हुन पुगेको पहारीले बताउनुभयो। ‘भविष्यमा हाम्रा सन्ततीलाई हामीले यो ताल बुझाउनुपर्छ’, पहारीले भन्नुभयो- ‘त्यसकारण देश-विदेशका पर्यटकको समेत आकर्षाको रुपमा रहेको ताल बचाउनु हामी सबैको दायित्व हो।’
|